काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले एकताका लागि भन्दै ६ बुँदे नयाँ घोषणा सार्वजनिक गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालबीच नेपाल निवास कोटेश्वरमा भेट भएको छ । नेपालसँगको केहीबेरको भेटपछि अध्यक्ष प्रचण्ड सिधै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुग्नुभएको छ
एमाले नेता माधव नेपाल निकट स्रोतले जनाएअनुसार कोटेश्वरस्थित निवासमा भएको प्रचण्ड–नेपालबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ अघिकै संरचनामा फर्काउने घोषणा गरेपछि भेट भएको हो । यसअघि कांग्रेस, माओवादी, जसपालगायत ५ विपक्षी गठबन्धनले सभापति देउवालाई समर्थन गर्दै प्रधानमन्त्रीमा प्रस्ताव गरेको थियो । यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले दावी नपुगेको भन्दै पुन: एमाले अध्यक्ष तथा संसदीय दलका नेता ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएपछि विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दायर गरेको अवस्था रहेका बेला माओवादी अध्यक्ष प्रचण्डको दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।