काठमाडौं । नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षमा रहँदै आउनुभएका चारजना नेताहरु पार्टी एकताको आगामी रणनीतिबारे छलफल गर्दै हुनुहुन्छ । उहाँहरुले आइतबार राति प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि वक्तव्य जारी गरेपछिको पार्टी एकताको आगामी रणनीतिबारे गर्नुभएको हो ।
पार्टी अध्यक्ष ओलीले नेपाल पक्षले भनेअनुसार नै पार्टीलाई २०७५ जेठ ३ गते अगाडिकै अवस्थाबाट पार्टीलाई अघि बढाउन सकिने धारणा व्यक्त गर्नुभएको थियो । यससँगै सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र घनश्याम भुषालबीचमा छलफल हुन लागेको छ । आफूहरु पार्टी एकताबारेको रणनीतिका बारेमा छलफलमा रहेको तर पार्टी अध्यक्षको वक्तव्य र आगामी दिशाबारे केही भन्न नचाहेको एमाले नेता पाण्डेले बताउनुभयो ।
पार्टी अध्यक्ष ओलीको वक्तव्यपश्चात् योगेश भट्टराईले तत्कालै वार्ताका र एकताका लागि बाटो खुलेको धारणा सार्वजनिक गरिसक्नुभएको थियो । पार्टीको पछिल्लो अवस्थाबारे छलफल भइरहेको नेता पाण्डेले जानकारी दिनुभयो । सो छलफल पनि नेता पाण्डे निवासमा भइरहेको बताइएको छ ।