काठमाडौं । हालसालै मन्त्री पदबाट बाहिरिनुभएका निवर्तमान सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफूले नेपाल सरकारको मन्त्रीका हैसियतले प्राप्त गरेको आवास तथा व्यवस्थापनलगायतका कुनै पनि आर्थिक सुविधा नलिएको बताउनुभएको छ ।
२०७६ मंसिर ४ देखि २०७८ जेठ २१ गतेसम्म सहरी विकास राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएका निवर्तमान मन्त्री मानन्धरले आवासीय सुविधा नलिनुभएका मन्त्रीहरुलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराउने हरेक महिनाको ४० हजारका दरले राज्यमन्त्रीका रुपमा बहाल रहेको १८ महिनासम्मको रु ७ लाख २० हजार रकम आफूले नलिएको जानकारी दिनुभयो छ ।
आज एक प्रेस वक्तव्य जारी गर्नुहुँदै निवर्तमान सहरी विकास राज्यमन्त्री मानन्धरले कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषमा नै रहेको जानकारी दिनुभएको छ । खर्च भएर नजाने जिन्सी सामानहरु ल्यापटप तथा आइप्याड र सवारीसाधनसमेत फिर्ता बुझाइसकेको उहाँले बताउनुभयो । समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्प पूरा गर्ने महान अभियानमा राज्यमन्त्री पदको हैसियतमा रही जनताका आकांक्षा पूरा गर्न आफू सदैव लागेको पनि मानन्धरले दाबी गर्नुभएको छ ।
जनताको विकासको तीब्र चाहना पूरा गर्न पारदर्शीरुपमा कार्य गरेको बताउनुहुँदै एमाले नेता मानन्धरले पारिश्रमिकको आधा रकम जनताको जीवन रक्षाका लागि कोभिड कोषमा गएको र आफ्नो चलअचल सम्पत्ती विवरणमा कुनै हेरफेर नभएको जानकारी दिनुभयो ।
काठमाडौं क्षेत्र नम्वर ७ बाट निर्वाचित पूर्व सांसद मानन्धरले २०७० सालदेखि नै निरन्तर रुपमा पार्टीको क्षेत्रीय कार्यालय सञ्चालनका लागि मासिक १५ हजार घर भाडासहित अन्य खर्च व्यवस्थापन गर्दै आइरहेको जानकारी दिनुभएको छ । समृद्ध नेपाल निर्माणको राष्ट्रिय अभियान पुरा गर्न प्रधानमन्त्री ओलीले आफूलाई विश्वास गरी राज्यमन्त्रीको जिम्मेवारी दिएको बताउनुहुँदै मानन्धरले जनताको विकासको चाहना पूरा गर्ने अभियानमा निरन्तर लागिरहने बताउनुभयो । आफू सरकार बाहिरिए पनि पार्टीको नैतिकवान र इमान्दार कार्यकर्ताका हैसियतले आफू सधैं जनताको घरदैलोमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारको समृद्धिको अभियानमा सरकार बाहिरै रहेर सदैव देश र जनताको हित र सहयोगमा कार्य गरिरहने बताउनुभयो । कोरोना महामारीका कारण समस्यामा परेकालाई आफ्नै व्यक्तिगत प्रयासमा राहत, उद्दार र खाना व्यवस्थापनमा उहाँ सक्रिय हुनुहुन्छ ।
निवर्तमान राज्यमन्त्री मानन्धर सहरी विकास मन्त्रालय मातहतका आयोजनाहरुको निर्माणलाई पूर्णता दिन निरन्तर लागिपर्नुभएको थियो ।
हेर्नुहोस् शहरी विकास मन्त्रालयद्वारा जारी गरिएको सामग्री बरबुझारथको व्यहोरा