काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षमध्येका एक अध्यक्षले राप्रपाको एकता गरेकोमा पछुतो गर्नुभएको छ । ती अध्यक्षहरुमध्येका एक अध्यक्ष कमल थापाले राप्रपा पार्टी एकताप्रति पछुतो गर्नुभएको हो ।
अध्यक्ष थापाले आफ्ना अरु अध्यक्षद्वयको भूमिकाप्रति निराशा व्यक्त गर्नुभयो । एकतापछि राप्रपामा थापा, पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी ३ जना अध्यक्ष रहनुभएको छ । सोमबार बिहान उहाँले आफूहरूलाई अल्छी र तीव्र गतिमा दौडने घोडासँग तुलना गर्दै पार्टीका अन्य दुई अध्यक्षको भूमिकाप्रति गुनासो व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले सांकेतिक रूपमा भन्नुभएको छ, ‘दुई वा दुईभन्दा बढी घोडाले तानेको रथले तीव्र गति लिन सक्दैन । यो ध्रुवसत्य हो । यो सत्य नबुझेको होइन,’ थापाले भन्नुभयो, ‘तर तीव्र गति लिन नसके पनि सामान्य गतिमा हिँड्ने आशा थियो । तर गतिहीन नै होला भन्ने कहिल्यै सोचिएन ।’ उहाँले अगाडि थप्नुभयो, ‘दुई अल्छी घोडाको बीचमा च्यापिएको तीव्र गतिको घोडाको हालत के होला ? च्यापिएर थला पर्न के बेर छैन।’