काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७८ सालको शैक्षिक सत्र आगामी असार १ गतेबाटै सुरु गर्न निर्देशन दिनुभएको छ । विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गरी असार १ गतेबाट विद्यालय तहको नयाँ शैक्षिक सत्रको प्रारम्भ गर्ने गरी व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मातहतका अधिकारीलाई निर्देशन दिनुभएको हो ।
वैकल्पिक विधिको प्रबन्ध गरेर भए पनि नयाँ शैक्षिक सत्र अगाडि बढाउनुपर्ने र त्यसका लागि तयारी गर्न सम्पूर्ण सरोकारवालाहरुलाई मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको छ । सरकारको यो निर्णयअनुसार अब कक्षा १० सम्म विद्यार्थीको नयाँ शैक्षिक सत्रको पठनपाठन असार १ गतेबाट सुरु हुनेछ । एसईई प्रक्रियामै रहेकाले अहिलेको अवस्थामा कक्षा १० मै नयाँ र पुराना गरी दुई समूह रहेका छन् ।
मन्त्री श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल चाँडै प्रकाशन गर्ने व्यवस्था मिलाउनसमेत निर्देशन दिनुभएको मन्त्रीको सचिवालयले जनाएको छ । यसका साथै नयाँ शैक्षिक सत्रसँगै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक पु-याउन र पाठ्यपुस्तकको ढुवानीको आवश्यक प्रबन्ध मिलाउन सीसीएमसीमार्फत् मन्त्रिपरिषदमा पत्र लेखेर पठाउने निर्णय समेत भएको छ ।

























