काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना सरकारी पत्रिका गोरखापत्रमा जारी गरेको छ । २०७७ साल चैत २० को भूमिसुधार कार्यालयको आदेशअनुसार ती ४९ जनाको घरमा यो सूचना प्रकाशित गर्न जाँदा घर ठेगाना पत्ता नलागी म्याद तामेल हुन नसकेको जनाउँदै पत्रिकामा सूचना जारी गरेर २१ दिने समय दिइएको जनाइएको छ ।
मालपोत कार्यालय काठमाडौँले जग्गाधनीलाई सो जग्गा सरकारको नाममा ल्याउनु नपर्ने कारण भए २१ दिनभित्र कारण पेस गर्न आदेश जारी गरेको छ । अब सम्बन्धित जग्गाधनीले २१ दिनभित्र जवाफ नदिए सो जग्गा सरकारको नाममा स्वतः नामसारी हुने भएको छ ।
जारी सूचनामा उल्लेखित विवरण अनुसार सो विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा रहेको देखिन्छ । उहाँ र उहाँको परिवारको नाममा गरी २२ कित्तामा ३ हजार २ सय ७५ वर्गफिट जग्गा सरकारको नाममा गर्नुपर्ने ठहर मालपोत कार्यालय काठमाडौँले गरेको छ ।
मालपोत कार्यालय काठमाडौंद्वारा जारी नामावलीसहितको २१ दिने सूचना






















