काठमाडौं । संसद विघटनविरुद्धको मुद्दामा सुनुवाइ गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास आज बस्ने भएको छ ।
संवैधानिक इजलासका लागि आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्ने सम्भावना रहेको छ ।
नेपालको संविधानमा सर्वोच्च अदालतमा विचाराधीन कुनै मुद्दामा गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएमा त्यस्तो मुद्दा हेर्ने गरी प्रधानन्यायाधीशले संवैधानिक इजलासमा न्यायाधीश तोक्ने व्यवस्था रहेको छ । इजलास सञ्चालन गर्न संविधानले सर्वोच्च अदालतलाई अधिकार दिएको छ ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा विवाद आएपछि प्रधान्यायाधीश जबराले वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने जानकारी दिँदै आजका लागि विवादको सुनुवाइका लागि पेशी तोक्नुभएको थियो ।
जेठ २४ गते गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि अधिवक्ताहरुले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो ।



















