काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको नीति भएको धारणा सार्वजनिक गर्नुभएको छ ।
नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिको विरोध भइरहेका बेला पोखरेलले उपप्रधानमन्त्री महतोले बोलेको कुरालाई लिएर अहिले जुन विरोध भइरहेको छ, त्यो हिजो माओवादी केन्द्रको नीति नै भएको दाबी गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले जसपासँग कतिपय नीतिगत विषयमा विमति रहेको पनि बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘जसपाका कतिपय नीतिसँग हाम्रो विमति हिजो पनि थिए र आज पनि छन् । आज जुन कुराको तीव्र विरोध भइरहेको छ, हिजो त्यो माओवादी केन्द्रको नीति नै हो । आज माओवादी केन्द्रको उक्त नीति बदलिएको हो भने जसपाको पनि अवश्य बदलिनेछ । तर, राष्ट्र र राज्यका बारेमा हामी हिजो पनि स्पष्ट थियौँ र आज पनि स्पष्ट नै छौँ ।’



















