काठमाडौँ । वीरगन्जमा आगामी असार १ गतेदेखि विद्यालय संचालन गर्ने तयारी गरिएको छ । वीरगन्ज महानगरपालिकाले असार १ गतेदेखि स्वास्थ्यका सबै मापदण्ड पुरा गरेर विद्यालय खोल्ने तयारी गरेको मेयर विजयकुमार सरावगीले बताउनुभयो ।
कोरोना संक्रमणको परिस्थिति सामान्य रहेमा पहिलो चरणमा कक्षा ८ देखि १२ सम्मका कक्षा संचालन गर्न सकिने उहाँले जानकारी दिनुभयो । वीरगन्ज महानगरमा कोरोना घट्दो क्रममा रहेकाले शैक्षिक कार्यक्रम सुरु गर्न लागिएको उहाँको भनाइ छ ।
आइतबारदेखि विद्यालयका प्रशासनिक काम संचालन हुने उहाँले बताउनुभयो । विद्यालयमा भौतिक उपस्थिति गराएर पठनपाठन गर्न अभिभावकहरुबाट लिखित सहमति लिने र स्वास्थ्यका सम्पूर्ण मापदण्ड पुरा आग्रह गरिएको छ ।
महानगरले कक्षा संचालनका लागि ७ वटा सर्त अघि सारेको छ । विद्यालयका सवारीसाधन नचलाउन महानगरले सम्पूर्ण विद्यालयहरुलाई आह्वान गरेको छ ।
शिक्षण सिकाइका वैकल्पिक उपाय विद्यालय र अभिभावकबीच सहमति गरेर गर्न भनिएको छ । असार १ देखि ७ गतेसम्म भर्नालगायतका व्यवस्थापकीय काम हुने, ८ देखि १५ गतेसम्म भर्ना सप्ताहका लागि घरदैलो र असार १५ पछि नियमित पठनपाठन सुचारु गर्न महानगरले भनेको छ । कुनै विषम स्थिति देखिए महानगरको शैक्षिक प्रशासन महाशाखामा सूचित गर्न र निर्देशन अनुसार विद्यालय सञ्चालन गर्न अपील गरिएको छ ।

























