काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । आफूसँग थप सात मन्त्रालय राख्नुभएका प्रधानमन्त्री ओलीले सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने सम्भावना रहेको छ ।
प्रधानमन्त्री ओलीसँग रहेका मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले जानकारी दिनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्री ओलीको रहेको छ । यद्यपि हालसम्म संवादले ठोस निष्कर्ष भने दिन सकेको अवस्था छैन ।
एमाले उच्च स्रोतका अनुसार भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको र यसबारेको गृहकार्यलाई उहाँले तीव्रता दिनुभएको छ । भोलि शपथ खान सक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम चर्चामा रहेको छ ।
प्रधानमन्त्रीको निकट र विश्वासिलो पात्रका रुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना प्रवल रहेको प्रधानमन्त्री निकट एक नेताले जानकारी दिनुभयो ।
त्यसैगरी यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना त्यत्तिकै प्रवल एमाले बृत्तमा चर्चा चलेको छ । प्रदीप ज्ञवाली दोहोरिनुभएमा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको बुझिएको छ । यद्यपि यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारीले पनि गृहमन्त्रालयको इच्छा व्यक्त गर्नुभएको बताइएको छ ।
नारदमुनी राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमालेभित्र शुरुदेखि नै छ । तर उहाँले अहिलेसम्म अवसर प्राप्त गर्नुभएको छैन । सम्भवतः भोलि शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाइ एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैले आँकलन गरेका छन् ।
त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको बेला महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थाल्नुभएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा रहेको छ ।
प्रधानमन्त्री ओलीसँग अहिले रहेका मन्त्रालयमा उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गर्नुभएको थियो । सोहीअनुसार नवनियुक्त मन्त्रीहरुले आ-आफ्नो मन्त्रालयको पदभार समेत ग्रहण गरिसक्नुभएको छ ।