काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र बेलायतबीच ऐतिहासिक सम्बन्ध रहेकाले बेलायतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराउन आग्रह गर्नुभएको छ । बिबिसीसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
ऐतिहासिक सम्बन्ध रहेको बेलायतले नेपाललाई खोप उपलब्ध गराउनु उसको जिम्मेवारी भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । गोखा सैनिकको योगदानका आधारमा पनि बेलायतले नेपाललाई खोप दिने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ रहेको छ ।
‘बेलायत सरकार र प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालले हाल भोगिरहेको समस्याबारे विश्वस्त गराउन चाहन्छु’, प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘नेपाल अहिले विश्वमा नै धेरै कोरोना संक्रमित देखिएको देश हो । राजधानीभन्दा बाहिरका ग्रामीण क्षेत्रमा पनि अहिले भाइरस फैलिएको अवस्था छ ।’
नागरिकलाई भ्याक्सि लगाउन सकेमा यो नियन्त्रण हुने उहाँले बताउनुभएको छ । त्यो गर्न नसकेमा यो निकै कठिन हुन जाने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालको पुरानो सम्बन्धका आधारमा पनि बेलायतलाई सहयोग उपलब्ध गराउन अपिल गर्नुभएको छ ।
‘गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्,’ उहाँले भन्नुभयो, ‘उनीहरुका परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ।’
बीबीसीसँग बेलायतका विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलायत नेपालको साथमा रहेको बताउनुभएको छ । प्रवक्ताले कोभ्याक्समार्फत नेपाललाई भ्याक्सिन उपलब्ध गराउने बताउनुभयो । उहाँले बेलायतले नेपाललाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सामग्री उपलब्ध गराएको पनि बताउनुभयो ।