काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले प्रत्येक नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रपतिबाट शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदबारस्थित अर्थ मन्त्रालयमा पदबहालीपछि अर्थमन्त्री पौडेलले कोरोनालाई पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारको सम्पूर्ण सामर्थ्य लगाइने बताउनुभयो ।
उहाँले कोरोनाले सिर्जना गरेको प्रतिकूलता हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउने अभिभारा पूरा गरिने बताउनुभयो । पद बहालीका क्रममा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिनेसम्बन्धी फाइलसमेत स्वीकृत गर्नुभएको उहाँको सचिवालयले बताएको छ ।