काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपासहितको सहभागितमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँहरुले शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो । २ जना राज्यमन्त्रीलाई भने प्रधानमन्त्री ओलीले शपथ गराउनुभएको छ ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । उहाँले एमालेका पुराना अधिकांश मन्त्रीलाई समेत हटाएर मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको हो ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा अब ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्रीको टिम बनेको छ । उहाँले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाउनुभएको छ ।
यसैगरी मन्त्रिपरिषद्बाट एमाले महासचिव ईश्वर पोखरेलसहित ९ मन्त्री र तीन राज्यमन्त्री बाहिरिनुभएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिकमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल, सञ्चारमन्त्री र्पावत गुरुङ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाम्फे बिदा हुनुभएको छ ।
यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश गठुन्ना, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो पनि बिदा हुनुभयो ।
स्वास्थ्य राज्यमन्त्री नवराज राउत, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र उद्योग राज्यमन्त्री विमला विकले पनि सरकारबाट बिदा लिनुभएको छ ।
मौजुदा मन्त्रिपरिषद्का चार मन्त्रीलाई भने प्रधानमन्त्री ओलीले कायमै राख्नुभएको छ । अर्थमन्त्री पौडेलसँगै भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र कानूनमन्त्री लीलानाथ श्रेष्ठलाई निरन्तरता दिइएको छ ।
पुनर्गठित मन्त्रिपरिषदमा रहनुभएका मन्त्री र उहाँरुले सम्हाल्ने मन्त्रालयहरु
प्रधानमन्त्री केपी शर्मा ओली- रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन ।
विष्णु पौडेल- उपप्रधानमन्त्री, अर्थ राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव – श्रम तथा रोजगार
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक