काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुुहुन्छ । जसपाका नेताहरु मन्त्री बन्दैछन् भने नेकपा एमालेका मन्त्रीहरु पनि पुरानालाई हटाएर नयाँ बनाउने तयारी भएको छ ।
हाल मन्त्री रहेका अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री लीलानाथ श्रेष्ठ र शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठबाहेक अन्य सबै मन्त्री पदमुक्त हुन लागेको वालुवाटार स्रोतले जनाएको छ ।
अबको मन्त्रिपरषद्मा तीन जना उपप्रधानमन्त्री हुने बताइएको छ । अर्थमन्त्री पौडेल, एमाले नेता रघुबीर महासेठ र जसपा नेता राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बन्ने बुझिएको छ ।
अध्यक्ष महन्थ ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाका १० जना नेता मन्त्रिपरिषद्मा सहभागी हुन लागेको बताइएको छ । महतोले उपप्रधानसहित शहरी विकास मन्त्रालयको नेतृत्व सम्हाल्ने टुंगो लागेको बताइएको छ ।
त्यस्तै जसपा नेताहरु शरतसिंह भण्डारीले ऊर्जा, अनिल झाले खानेपानी, विमल श्रीवास्तवले श्रम तथा रोजगार, उमाशंकर अरगरियाले वन, लक्ष्मणलाल कर्णले भूमिसुधार, चन्दा चौधरीले महिला र एकवाल मियाँले युवा तथा खेलकुद मन्त्री बन्ने बताइएकोछ ।
त्यसतै जसपा नेता चन्द्रकान्त चौधरीले ऊर्जा राज्यमन्त्री र रेणुका गुरुङले महिला तथा बालबालिका राज्यमन्त्रीको जिम्मेवारी पाउने बताइएको छ ।
बेलुकी ८ बजे नवनियुक्त मन्त्री एवं राज्यमन्त्रीहरूको सपथ ग्रहण समारोह राखिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।