काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको तयारी थाल्नुभएको छ । एमाले स्रोतका अनुसार जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका केही नेतालाई आजै मन्त्रीको शपथ गराउने तयारी गरिएको छ ।
नेकपा (एमाले) पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार कुन कुन मन्त्रालय कसलाई दिने भन्ने सूचीबारे ठोस निर्णय हुन बाँकी भए पनि आज साँझ ५ बजेसम्म शपथको तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले बिहीबार राति जसपाका अध्यक्ष ठाकुरसँग लामै समय छलफल गर्नुभएको थियो । बालुवाटारमा भएको छलफलपछि आज जसपाबाट केही नेताहरुलाई मन्त्रीको शपथ ग्रहण गराउने तयारी गरिएको छ ।
यसअघि माओवादी केन्द्र परित्याग गरी एमालेमा आएका नेताहरुले सम्हाल्नुभएका मन्त्रालय अहिले खाली रहेका छन् । उहाँहरु पदमुक्त हुनुभएपछि सबै मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राख्नुभएको छ । सोही मन्त्रालय जसपाका नेताहरुलाई जिम्मा दिएर शपथ गराउने तयारी भएको स्रोतले बतायो ।
प्रधानमन्त्री ओलीसँग अहिले मौजुदा रहेका मन्त्रालयमा गृह, उद्योग वाणिज्य तथा आपूर्ति, ऊर्जा जलस्रोत तथा सिंचाई, शहरी विकास, खानेपानी, श्रम रोजगार तथा सामाजिक सुरक्षा, युवा तथा खेलकुद रहेका छन् । सोही मन्त्रालयको जिम्मेवारी जसपाका नेताहरुले सम्हाल्नुहुने तय भएको छ ।
उता जसपा स्रोतका अनुसार नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा आजै सहभागी हुने तयारी गरेको बताइएको छ । तर पार्टीको आन्तरिक निर्णय हुन भने अझै बाँकी रहेको नेता लक्ष्मणलाल कर्णले बताउनुभयो । सरकारमा सहभागी हुने कुरा सही भएको र अध्यक्ष ठाकुरले हिजो (बिहीबार) प्रधानमन्त्रीसँग छलफल पनि गर्नुभएको तर उहाँहरुबीच के के विषयमा कुन कुन मन्त्रालय बाँडफाँट गर्ने सहमति भएको हो पार्टीमा छलफल हुन बाँकी रहेको उहाँले बताउनुभयो ।
जसपा स्रोतले दिएको जानकारी अनुसार नेता राजेन्द्र महतोलाई उद्योग वाणिज्य तथा आपूर्ति, अनिल झालाई शहरी विकास, शरतसिंह भण्डारीलाई उर्जा जलस्रोत तथा सिचाई, विमल श्रीवास्तवलाई खानेपानी, उमाशंकर अरगरियालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ । यसबारे अध्यक्ष ठाकुर र नेता महतोबीच सहमति बने पनि पार्टीका अन्य नेताहरुसँग छलफल गर्न बाँकी रहेको जसपा स्रोतले जानकारी दिएको छ ।
यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भए पनि अहिलेसम्म अन्तिम टुङ्गो भने लाग्न सकेको छैन । जसपाले पार्टीमा निर्णय गरेर आएमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुहुने उहाँको भनाइ छ ।