पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापालाई पदमुक्त गरेको छ । उहाँलाई दलबाट निष्काशन गरेको जानकारी राष्ट्रिय जनमोर्चाले बिहीबार नै प्रदेशसभा सचिवालयमा दिएको थियो ।
सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्काशन गरेको पत्र आएको जानकारी दिँदै प्रदेशसभा सदस्यको पद रिक्त रहेको बताउनुभयो ।
थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्काशन गर्न प्रदेशसभालाई जानकारी गराएको जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
अब ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहने भएका छन् । राष्ट्रिय जनमोर्चाले नेकपा एमालेबाहेकको दलको सरकार बनाउने निर्णय गरे पनि थापाले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक रुपमा नै बताउनुभएको थियो ।