काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठभर अर्थात् ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनुभयो ।
सो बैठकले किराना पसल, डिपार्टमेन्टल स्टोर र स्टेशनरी, किताब पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णयसमेत गरेको छ । तरकारी, फलफूल, दूध, मासु र ग्यास पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ ।
पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो ।
निजी तथा सार्वजनिक निर्माणको काम पनि सुचारु गर्न दिने तर काम गर्दा काम गर्ने मानिस भित्रै बस्नुपर्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ ।
अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ । बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने प्रजिअ भट्टराईले बताउनुभयो ।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही जेठ २० गते राती १२ पछि सकिँदैछ भने उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो ।

























