काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ ।
आजको छलफल पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित हुने उहाँले जानकारी दिनुभयो । मंगलवारको स्थायी कमिटी बैठकले पार्टीलाई एकताबद्ध राख्न हदैसम्म लचिलो बन्ने र अर्को पक्षले अनुशासनहीन गतिविधि जारी राखे पनि एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय लिएको थियो ।
यसअघिको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधिसकेको छ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीले कारबाही गरिसकेको छ ।