काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा केही खुकुलो पार्दै अवधि थप्ने निर्णय आज हुने भएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञाबारे निर्णय गर्नका लागि आज बिहान ११ बजे तीनै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बस्ने जानकारी गराउनुभयो ।
उहाँका अनुसार मंगलबारको बैठकमा निषेधाज्ञाको खाका बनिसकेको र आज आधिकारिक निर्णय हुनेछ ।
उहाँले जेठभरि निषेधाज्ञा जारी राख्ने र खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर बिहान ९ बजेसम्म खोल्न दिने विषयमा छलफल भइरहेको बताउनुभयो ।
‘तर आधिकारिक निर्णयचाहिँ आजको भर्चुअल बैठकपछि नै सार्वजनिक गरिनेछ,’ उहाँले भन्नुभयो ।
यसअघि तोकिएको निषेधाज्ञाको अवधि भोलि (जेठ २०) गते मध्यरातिबाट सकिँदै छ । प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुसार निषेधाज्ञाको अवधि जेठभरि जारी राख्ने हुँदा थप १० दिन थपिने सम्भावना रहेको छ ।




















