काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञाको अवधि केही खुकुलो पार्दै अरू एक हप्ता थप्ने तयारी गरिएको छ ।
त्यसका लागि आज तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर) का प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तयारी गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।
आगामी २० गतेबाट निषेधाज्ञाको अवधि सकिने तर कोरोना संक्रमण अझै कम नभएकाले २१ गतेदेखि अरू एक हप्ता थप्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज हामी तीन जिल्लाका सीडीओहरुको संयुक्त बैठक बसेर यसबारे निर्णय गर्छौं ।’
साथै उहाँले निषेधाज्ञा केही खुकुलो पार्ने सम्बन्धमा पनि छलफल भइरहेको बताउनुभयो । खाद्यान्न पसलचाहिँ खोल्न दिने कि भन्ने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो । के के खोल्न दिने भन्ने विषयमा बैठकपछि नै अन्तिम टुंगो लाग्ने उहाँले बताउनुभयो ।
उपत्यकामा गत वैशाख १६ गते सुरु निषेधाज्ञाको अवधि तेस्रोपटक थपेर यही जेठ २० गते मध्यरातिसम्म पुर्याइएको हो । सो अवधि अब २ दिन बाँकी रहेका बेला तीनै जिल्लाका सिडिओहरुको संयुक्त बैठक बस्न लागेको हो ।




















