काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
यसअघि आइतबार बैठक बस्ने तयारी गरिएकोमा आन्तरिक कारण भन्दै स्थगित भएको थियो । यसअघि बसेको बैठकले १२ जना सांसदलाई स्पष्टीकरण सोधेको र उनीहरुलाई के कारबाही गर्ने भन्ने बारेमा पनि आजको बैठकमा छलफल हुने स्रोतले बताएको छ ।
१२ जनालाई के कारवाही गर्ने भन्ने बारेमा र लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि समीक्षा हुने कार्यालय सचिव तामाङले जानकारी दिनुभएको छ । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।
यसअघि एमालेले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिसकेको र आजको बैठकले बाँकी अन्य सदस्यहरुका बारेमा निर्णय गर्ने स्रोतको दाबी छ ।