काठमाडौं । नेपालको छिमेकी राष्ट्र चीन सरकारले दिएको १० लाखमध्ये ८ लाख डोज खोप आज नेपाल आउँदैछ । आठ लाख भेरोसेल खोप लिएर वाइडबडी जहाज दिउँसो २ बजे काठमाडौं अवतरण गर्ने भएको हो ।
चीन सरकारले अनुदानमा दिन लागेको भेरोसेल खोप लिन गएराति ११ बजेर ३० मिनेटमा नेपाल वायुसेवा निगमको ए ३३० वाइडबडी जहाज चीनको बेइजिङ उडेको थियो । जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको आग्रहमा चिनियाँ राष्ट्रपति सि जिङपिङले उक्त खोप नेपाललाई अनुदानमा दिने घोषणा गर्नुभएको थियो ।
चीन सरकारले घोषणा गरेको उक्त खोप नेपाल वायुसेवा निगमको विमानले ८ लाख र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये १ लाख डोज खोप हिमालयन एयरलाइन्सको विमानमार्फत आजै ल्याइने कार्यतालिका भएको स्रोतले बताएको छ ।
भेरोसेल खोप एकपटक पनि नलगाएका नागरिकलाई दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । खोप अभियान ७७ वटै जिल्लामा सञ्चालन गरिने मन्त्रालयले जनाएको छ ।