झापा । मेची अञ्चल अस्पताललाई कोरोना संक्रमितको पीसीआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट किट विद्यार्थीहरुले सहयोग गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तरगत झापाको विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ब्याचले किट नभएर अस्पतालमा बन्द भएको पीसीआर परीक्षण तत्काल सुचारु गराउन चार सय थान रिएजेन्ट किट उपलब्ध गराएका हुन् ।
अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा गत शनिवारदेखि अस्पतालमा पीसीआर परीक्षण बन्द भएको थियो ।
सरकारी दररेट अनुसारप्रति किट सात सय रुपैयाँ पर्ने भएपनि पूर्व विद्यार्थी समूहले प्रति किट चार सय ५० मा खरिद गरी अस्पताल प्रशासन निशुल्क उपलव्ध गराएका हुन ।
पूर्व विद्यार्थीहरू शेखर बुढाथोकी (विशाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले बिहीबार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरलाई सो किट हस्तान्तरण गरेको अनु तिम्सिनाले जानकारी दिएकी छिन् ।
कोरोनाको महामारीको बेला सरकारी अस्पतालमा किटको अभावमा पीसीआर परीक्षण बन्द नहोस् र स्थानीयलाई केही भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले चार सय थान किट उपलब्ध गराइएको र सकेसम्म पछि पनि सहयोग गर्दै जाने विभूतिका पूर्वविद्यार्थीहरुले बताएका छन् ।
यसैवीच प्रदेश १ को सामाजिक विकास मन्त्रालयले पनि अस्पताललाई सात सय थान रिएजेन्ट किट उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिएका छन् । किट उपलव्ध भएकाले शुक्रबारबाट पीसीआर परीक्षण शुरु गरिने पोखरेलले बताएका छन् ।























