काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ । आज पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोक्नु भएको छ ।
सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज हुँदैछ भने संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने भोलि लागि पेशी तोकिएको छ ।
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा ३० वटा रिट दर्ता भएका छन् ।
विपक्षी गठवन्धनका १४६ सांसदहरुले संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गरेका छन् ।