काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मिति कार्तिक २७ गते र मङ्सिर ३ गते हुने निर्वाचन निश्पक्ष र शान्तिपूर्ण ढँगले हुने बताउनुभएको छ । आज बालुवाटारमा प्रेस चौतारी नेपाल निकट पत्रकारहरुसँगको अन्तकृया कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले निर्वाचनमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सुपरिवेक्षक साथै सिसि क्यामरा र ड्रोनको समेत प्रयोग गरिने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले लोकतन्त्रलाई जिताउनु आफ्नो कर्तव्य भएको बताउँदै निष्पक्षताको मामलामा यो सरकारले गराएको निर्वाचन सर्वश्रेष्ठ हुने दावी गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘म कति बाच्छु त्यो ठुलो कुरा भएन लोकतन्त्र सधैँ बाच्नु पर्छ । मेरो पार्टी र मैले जित्नु नजित्नु ठुलो कुरा हैन, लोकतन्त्रले जित्नु पर्छ ।’
“अव देशलाई संविधानको सिर्जनात्मक प्रयोग गर्दै, लोकतन्त्रको सही ढङ्गले प्रयोग गर्दै, सुशासन कायम गर्दै विकासको बाटोमा अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो” प्रधानमन्त्री ओलीले थप्नुभयो, “केही शक्तिहरु लोकतन्त्र सिध्याउन, हिंसालाई अङ्गाल्न उद्दत रहेका छन्, त्यो समाधानको बाटो होइन ।”
आफूलाई प्रजातान्त्रिक शक्ति भन्नेहरुले पनि प्रचण्डपथमा हिडेको देख्दा आफूलाई ताजुव लागेको उहाँले टिप्पणी गर्नुभयो । “केपी ओलीले गराएको निर्वाचनमा भाग नलिने कुरा सुनिरहेको छुँ, कसले गराएको निर्वाचनमा भाग लिने हो रु यो कुन लोकतान्त्रिक अभ्यास हो रु” प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली काँग्रेस उत्तेजना र आवेशमा प्रचण्डपथमा लागिरहेको छ ।” जनताबाट निर्वाचित सबैभन्दा ठूलो दलको सरकारले गराएको निर्वाचनमा भाग नलिने हो भने कसले गराएको निर्वाचनमा जाने उहाँले जिज्ञासा गर्नुभयो ।
एमालेका केही नेतालाई उकासेर सरकार बनाउने सपना काँग्रेसले देखिरहेको छ, यो दलीय व्यवस्थालाई मजबुत बनाउने अभ्यास नभएको उहाँले बताउनुभयो । लोकतन्त्रमा क्षणिक स्वार्थमा लाग्न कोही नहुने उहाँले बताउनुभयो । दलीय अनुशासन, पद्धतिलाई भुलेर कोही अगाडि बढ्न नहुने उहाँले बताउनुभयो ।
निर्वाचनका लागि सरकारले मन्त्री बनाउने कुरामा फराकिलो ढँगले सोच्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘राष्ट्रिय सरकार बनाउँदा पनि संवैधानिक बाटोबाट मात्र बन्नेछ ।’ उहाँले सवै दललाई आफ्नो विघठित संसदको सदस्यको हैसियत अनुसार मन्त्रालय लिएर चुनावी सरकारमा सामेल हुन आग्रह पनि गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले अब आउने बजेट अध्यादेशबाट आउने पनि बताउनुभएको छ । औपचारिक ढँगले कार्यक्रम गरी बजेट आउने भन्दै प्रधानमन्त्री ओलीले बजेट सस्तो लोकप्रियताको नआई कोभिड केन्द्रीत आउने बताउनुभएको छ ।
उहाँले भन्नुभयो ‘चुनावको परिणाम आइसकेपछि पनि काम गर्न सक्ने गरी आउँछ, देशको अर्थतन्त्रप्रति गैर जिम्मेवार ढङ्गबाट बजेट आउँदैन ।’ बजेटमा विकासका साह्रै ठुला आकाङ्क्षा नराखिने बताउँदै प्रधानमन्त्री ओलीले आफूले यस अघि घोषणा गरेका कार्यक्रम भने समेटिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण ध्यान कोभिड नियन्त्रणमा रहेको बताउनुभएको छ । भरसक रोग सर्नै नदिने, सरिहालेमा उपयुक्त उपचार र खोपको व्यवस्थापन गर्नमा सरकार लागेको उहाँले प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड खोपका लागि छिमेकी मुलुक चीन, भारत, अन्य मुलुक बेलायत, रुस, अमेरिका लगायतको मुलुकसँग सरकारले पहल गरेको बताउनुभयो । भ्याक्सिन ल्याउने क्रम जारी रहेकाले निकट भविष्यमा पर्याप्त भ्याक्सिन आइपुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
अब अक्सिजन सिलिण्डर, भेन्टिलेटरको समस्या समाधान करिब भइसकेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले जनताको ज्यान जोगाउन सरकार सबै शक्ति परिचालन गरेको प्रष्ट पार्नुभयो । अहिले महामारीको ग्राफ तल झर्ने अवस्थामा रहेको बताउनुहुँदै उहाँले चाँडै नियन्त्रणमा आउने विश्वास व्यक्त गर्नुभयो ।
कोभिड विरुद्धको यस लडाईमा सबैलाई एकजुट भएर लाग्न प्रधानमन्त्री ओलीले आव्हान गर्नुभयो । महामारी अचानक आउने चिज भएकाले व्यवस्थापनमा केही समस्या परेपनि सरकारले नियन्त्रणका लागि सबै शक्ति परिचालन गरिसकेको प्रष्ट पार्नुभयो । धनी मुलुक समेत कोभिडले आक्रान्त भएकाबेला नेपाल पनि समस्यामा परेको उहाँले बताउनुभयो ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई व्यवस्थित गरी देशलाई विकासको बाटोमा अगाडि बढाउन सरकार लागिपरेको प्रधानमन्त्रीले बताउनुभयो ।