काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गर्नु भएको छ । एमालेका १२१ र जनता समाजवादी पार्टी (जसपा)का ३२ गरी १५३ सांसदको हस्ताक्षरसहित ओली राष्ट्रपति निवास पुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले समर्थन गरेको बताइएको छ ।
१२१ सांसद भएको एमालेलाई जसपाका ३२ जनाले साथ दिएपछि बहुमत पुगेकाले प्रधानमन्त्रीमा दावी गर्नु स्वभाविक भएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भएको छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएको बताइएको छ ।
त्यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर बोकेर विपक्षी गठबन्धनका नेताहरु पनि शीतल निवास पुगेका छन् । स्रोतका अनुसार देउवा भन्दा पहिले नै ओली पुग्नु भएको हो ।