काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका छन् । १४९ सांसदले हस्तक्षर बोकेर उनी राष्ट्रपति निवास पुगेका हुन ।
सिंहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति गर्दै हस्ताक्षर संकलन गरेका थिए ।
कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेको बताइएको छ ।
देउवासँग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी ९जसपा० का उपेन्द्र यादव र बाबुराम भट्टराई, र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल लगायत नेताहरु शीतल निवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न संसदको बहुमत प्राप्त गर्ने आधार प्रस्तुत गर्न आज साँझ ५ बजेसम्मको समय दिनु भएको थियो ।