वाग्मती । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डा खिमलाल देवकोटा विजयी हुनुभएको छ ।
आज भएको मतदानमा डा देवकोटाले पाँच हजार ८८ र नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ ।
बिहीबार बिहान मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्रांगणमा मतदान भएको हो । निर्वाचनमा ९७।४० प्रतिशत मत खसेको थियो ।
प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७ थिए । तर ९ जना मतदाता उपस्थित भएनन् । त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घोषणा गरेका थिए ।
११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता रहेका थिए ।
विजेता देवकोटालाई नेपाली कांग्रेस, माओवादी, जसपाका प्रतिनिधिहरुले मतदान गरेका थिए । एमालेको माधवकुमार नेपाल समूहका नेता समेत रहेका देवकोटालाई उनी पक्षका प्रतिनिधिहरुले समेत मतदान गरेपछि उनी विजयी भएका हुन ।