अटल स्वरुपमा चाँदीझँै टल्किइरहने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा हिमाल । हिमालको फेदीमा गुराँस चिमालका फूलहरुले मनै आकर्षित गरिरहने । यस क्षेत्रका सुन्दर पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाज । साँच्चिकै सुन्दर छ कञ्चनजङ्घा क्षेत्र । यही सौन्दर्यको आनन्द लिन आउँछन् वर्षेनी हजारौँ विदेशी र स्वदेशी पर्यटक ।
कञ्चनजङ्घाको यो सौन्दर्य हेर्न विगतका वर्षहरुमा जस्तै यस वर्ष पर्यटक आउन पाएका छैनन् । यहाँका पदर्मागहरुमा लामबद्ध भएर हिँड्ने गरेका उनीहरुलाई पनि विश्वमा बढ्दो कोरोना महाव्याधिले अबरुद्ध गरेको छ । यहाँका स्थानीय भन्छन्– संसारका मानिस आउने यहाँ विदेशीको अनुहार देख्न नपाएको वर्षदिन भन्दा धेरै भयो । हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी हिँड्ने गरेका यहाँका पदमार्गहरु अहिले खाली छन् । जसका कारण उनीहरुको सेवाका लागि खोलिएका सानातिना व्यवसाय गर्ने व्यवसायी पनि बेरोजगार भएका छन् ।
कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरीपूर्ण छ । पदमार्गको दायाँ—बायाँ रङ्गीविरङ्गी फूलहरु फुलेका छन् । यस क्षेत्रभित्र रहेका थरीथरीका चराचुरुङ्गीका आवाज र उनीहरुका गतिले वातावरण नै सङ्गीतमय बनाइदिन्छन् । यो सबै वातावरणले यहाँ पुगने जोकोहीलाई पनि स्वर्गीय आनन्द प्राप्त हुन्छ । पदमार्गका दायाँ बायाँ बग्ने झरनाहरुको आकर्षण त झन् छँदैछ ।
यो सबै सौन्दर्य हेरिदिने कोही छैनन् यतिखेर यहाँ । गत वर्ष चैत ११ गतेदेखि कोरोनाको सङ्क्रमण गाउँ—गाउँमा फैलिन थालेपछि नेपालभर बन्दाबन्दी (लकडाउन) भयो । बन्दाबन्दीको त्यही समयपछि यहाँ विदेशी र स्वदेशी पर्यटक आउन सकेका छैनन् ।
अस्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमालमा घुमघाम गर्न आएका बेला नेपालमा बन्दाबन्दी शुरु भएको थियो । त्यसपछि उहाँले कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताउनुभएको थियो । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भन्नुभएको थियो “म नेपाल आएको छ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्ला पनि पुगेको छैन ।”
विसं २०७६ साल चैतदेखि शुरु भएको लकडाउन भदौदेखि केही खुकुलो बनाइएको थियो । त्यसपछि विस्तारै कोभिड—१९ को सङ्क्रमण घट्दै गएको भए पनि पर्यटक स्वदेश र विदेशसम्म हिँड्ने अवस्था भने उत्पन्न हुन सकेन । पर्यटन आगमन हुने समयमा अहिले फेरि कोभिड—१९ को दोस्रो लहरले देशभर समस्या उत्पन्न गरेको छ ।
कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा ३८६ पुरुष र १८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा हिमाल आएका थिए । सार्क राष्ट्रबाट २५ पुरुष र चार महिला पर्यटक कञ्चजंघा हिमालमा आएका थिए । आन्तरिक पर्यटक १६ नेपाली पुरुष नौ नेपाली महिला कञ्चनजङ्घा हिमाल अवलोकन गर्न पुगेको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदको कार्यालयका सूचना अधिकारी धमेन्द्र थापाले जानकारी दिनुभयो ।
यहाँ २०५६ सालमा ७९९ जना मात्र विदेशी पर्यटक आएकोमा २०५७ सालमा ८७३ र २०५७ देखि २०७७ सालसम्म ११ हजार १९७ जान विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गर्न आएको कञ्चनजङ्घा क्षेत्र व्यवस्थापन परिषदको तथ्याङ्कले जनाएको छ ।
सङ्कटमा कञ्चनजङ्घाका होटल व्यवसायी
कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदको तथ्याङ्कमा छ । फक्ताङलुङ गाउँपालिका—६ ग्याप्लामा रु सात करोड भन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंगहोटल पर्यटक नआएपछि बन्द छ । त्यस्तै अरु पनि कैयौँ होटल प्रभावित भएका छन् । कतिपय सामान्य सञ्चालनमा रहेका भए पनि धेरै त बन्द हुने अवस्थामा पुगेका छन् ।
समुद्र सतहदेखि तीन हजार ५०० मिटर देखि चार हजार ५०० मिटर उचाइमा रु एक करोड भन्दा बढी लगानीमा बनेका चार वटा होटल सञ्चालनमा रहेको उक्त परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य करिब रु ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेको चेम्जोङले बताउनुभयो । यी होटलहरु गत वर्ष चैत महिनादेखि नै बन्द भएका छन् । लामो समयसम्म कोभिड—१९ को सङ्क्रमणले पर्यटकहरु आउन नसकेपछि बन्द भएका हुन् ।
कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आर्थिक सङ्कट
कञ्चनजङ्घा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यावसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । लामो समयसम्म कोभिड—१९ महाव्याधिका कारण पर्यटक नआउँदा पर्यटन क्षेत्रमा प्रत्यक्ष ठूलो असर परेको छ ।
नेपाल सरकारले २० लाख पर्यटक नेपाल भित्र¥याउने लक्ष्यका साथ सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने लक्ष्य लिएको थियो । यस वर्षको शुरुआतमै कोभिड—१९को सङक्रमण फैलिन थालेपछि २० लाख पर्यटक भित्र¥याउने नेपाल सरकारको योजना नै स्थगित भएको छ ।
नेपाल सरकारले ल्याएको भ्रमण वर्ष सफल बनाउन कञ्चनजङ्घा क्षेत्रका समुदायहरुले पनि ठूलो लगानी गरेर होटललगायतका आवश्यक पर्यटकीय पूर्वाधारहरु निर्माण गरेका थिए । अहिले पर्यटकको आगमन नै प्रभावित भएपछि उनीहरु ठूलो मारमा परेको बताएका छन् ।
पर्यटकको आगमन नभएपछि कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको ठूलो अर्थिक सङ्कट आइलागेको फक्ताङलुङ गाउँपालिका—६ घन्सा निवासी पेमा शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो “पर्यटक आउँछन् भनेर हामीसँग भएको पैसा पर्यटक आवास निर्माण र आवश्यक खाद्यान्न सामाग्री खरिद गर्यौं तर सोचेजस्तो भएन । अहिले हामी ठूलो मर्कामा परेका छौँ” हाम्रा आर्थिक सङ्कटका दिनहरु पनि शुरु भएको शेर्पा बताउनुहुन्छ ।
कञ्चनजङ्घा क्षेत्र एक उच्च हिमाली क्षेत्र भएकाले वैशाखदेखि मङ्सिरसम्म पुग्ने खाद्यान्नको अगाडि नै जोहो गर्नुपर्दछ । खाद्यान्न जोहो गर्नका लागि पनि आर्थिक सङ्कट आएपछि संरक्षण बचत तथा ऋण सहकारीबाट रु १२ लाख एकै पटकमा बचतकर्ताले फिर्ता लगेको संरक्षण बचत तथा ऋण सहकारी संस्थाका वित्तीय सहजकर्ता अभिषेक लिम्बू बताउनुहन्छ ।
कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आएको समयमा कमाएको पैसा सहकारीमा बचत गरेर राखेको पैसा सङ्कटको दिनममा खाद्यान्न जोहो गर्नको लागि काम लागेको घन्सा निवासी टाँसी तेन्जीङ शेर्पाले बताउनुभयो ।
अझ कति समयसम्म यो महामारी रहने हो भन्ने कुरा निश्चित नभएकोले यस क्षेत्रका पर्यटन व्यवसायीहरु विस्थापित हुनसक्ने सिरिजंघा गाउँपालिका—८ का होटल व्यवसायी दिपक राईले बताउनुभयो ।
पर्यटक नआएपछि स्थानीय बेरोजगार
पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घर परिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका कार्यक्रम सहायक जितेन चेम्जोङ बताउहुन्छ । केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका थिए भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै थिए । गएको दुई वर्ष यता यी क्षेत्रका सयाँै युवा बेरोजगार भएर बसेका चेम्जोङले बताउनुभयो । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकोले यहाँका स्थानीयको मुख्य व्यावसाय नै पर्यटनमा निर्भर रहेको छ ।
ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएको छ तर विदेशी पर्यटक आउन नसक्दा होटल व्यवसायीले भाडा तिर्नै मुिस्कल भएको व्यासायीहरुको भनाइ छ ।
(रासस)