काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो पार्टीको आकस्मिक स्थायी कमिटी बैठक बोलाउनु भएको छ । वैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक पनि बस्ने बताइएको छ ।
आज दिउँसो २ बजे एमालेको आकस्मिक स्थायी कमिटी बैठक बोलाइएको पार्टी स्रोतले जनाएको छ । स्थायी कमिटी र मन्त्रिपरिषद् दुवै बैठकको विषयवस्तु भने खुलाइएको छैन।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन चलिरहेकै बेला प्रधानमन्त्री ओलीले एकैसाथ पार्टी र मन्त्रिपरिषदको बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
संसदमा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा पुनः प्रधानमन्त्री बन्नु भएका ओलीले चाँडै विश्वासको मत लिने तयारी पनि गरिरहनु भएको स्रोतको दावी छ । प्रधानमन्त्री ओलीले जेठभित्र फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक वाध्यता छ ।