काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा उपनिर्वाचनमा रामबहादुर थापा (बादल)लाई मतदान गर्न आह्वान गर्नु भएको छ । आज अपिल जारी गर्दै अध्यक्ष ओलीले सूर्य चिन्ह लिएर उम्मेद्वारी दिएका बादललाई मतदान गर्न पार्टी पंक्तिलाई आह्वान गर्नु भएको हो ।
पुनस्र्थापित एमालेका निम्ति यो उपनिर्वाचनको विशेष महत्व रहेको अध्यक्ष ओलीको अपिलमा उल्लेख छ ।
पार्टीका उम्मेद्वारलाई मतदान नगर्नु एमाले पार्टीमा मात्रै नभएर बहुदलीय शासन प्रणालीमा पनि स्वीकार्य र क्षम्य नहुने चेतावनी दिँदै अध्यक्ष ओलीले भन्नु भएको छ ‘‘पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा त कल्पना बाहिरको कुरा हो । यस्ता प्रवृत्ति बहुदलीय शासन प्रणाली अवलम्बन गर्ने कुनै पनि पार्टीका लागि समेत स्वीकार्य या क्षम्य हुनै सक्दैनन् ।’
पार्टीभित्र देखिएको विवाद हल गर्न गठन भएको कार्यदलले काम गरिरहेका बेला हुन लागेको यो निर्वाचनलाई एकता प्रक्रियासँग समेत जोडेर हेरिएको छ । अध्यक्ष ओलीले भन्नु भएको छ “अहिले पार्टीभित्र देखापरेका समस्याको समधान गरी पार्टीलाई एकताबद्ध बनाउनका लागि कार्यदल बनेर काम समेत शुरु भइसकेको छ । यस परिप्रेक्ष्यमा पार्टी एकतालाई सुदृढ गर्न योगदान गर्नु हामी सबैको कर्तव्य हो ।”
नेकपाको बिरासत पनि बादलको उम्मेद्वारीले बोक्ने उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नु भएको छ “कतिपय नेताका अवसरवादी एवम् विभाजनकारी व्यवहारका कारण भंग नेकपाको विरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ ।”
बागमती प्रदेशमा बिहीबार हुन लागेको राष्ट्रियसभा निर्वाचनमा बादलको प्रतिस्पर्धी एमालेकै खिमलाल देवकोटा उम्मेदवार छन् । देवकोटा माधव नेपाल निकट हुन् । एमालेभित्रको विवाद नमिल्दै देवकोटा नेपाली कांग्रेस, माओवादी, जसपा र एमालेको माधव समूहको गठबन्धनबाट उम्मेदवार बनेका थिए ।
एमालेका महासचिव ईश्वर पोखरेलले बादललाई मतदान गर्न पार्टीका तर्फबाट मंगलवार नै आह्वान गरेका थिए । तर फेरि अध्यक्ष ओलीले पनि अपिल जारी गर्नुलाई अर्थपूर्णरुपमा हेरिएको छ । माधव नेपाल समूहले पार्टीका आधिकारिक उम्मेदवार वादललाई मतदान गरेनन् भने उनीहरु पार्टीको कारवाहीमा पर्ने त छदैछन्, पार्टीको एकतामा समेत धक्का लाग्ने देखिन्छ । एमालेका सवै प्रतिनिधिले वादललाई मतदान गरे उनको जित सुनिश्चित छ ।