काठमाडौँ । नेकपा (एमाले)ले नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित नेता भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डेमाथिको कारवाही फुकुवा गरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
गत चैतमा स्पष्टीकरण सोधिएकामा चित्तबुझ्दो जवाफ नदिएको जनाई ती नेतालाई एमालेले छ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । उहाँका अनुसार बैठकले पार्टी एकताबद्ध बनाउने अधिकार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
यसैवीच नेकपा एमालेका अध्यक्ष ओली र नेता माधवकुमार नेपाल बीच टेलिफोन सम्वाद भएको छ । अध्यक्ष ओलीले नेपाललाई टेलिफोन गरेर भेटवार्ताको प्रस्ताव राख्नु भएको बताइएको छ । नेता नेपालले दुई घण्टापछि कुरा गरौंला भन्नुभएको नेता सुवास नेम्वाङले जानकारी दिनु भएको छ ।
२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ ९२० अनुसार दुई वा दुई भन्दा बढी दलहरुको संयुक्त सरकारका निम्ति दिएको समय आजै सकिदैछ ।