काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्को सरकार निर्माणको पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।
सोमबार संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ । त्यसैले राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई सोमबार राति नै आह्वान गर्नु भएको छ । दुई वा दुईभन्दा बढी दल मिलेर वैशाख ३० गते राति ९ बजेसम्मको समय दिनु भएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा (भट्टराई–यादव पक्ष) ले पनि विज्ञप्ति जारी गरेर वहुमतको सरकार गठनको प्रक्रिया थाल्न राष्ट्रपतिसँग आग्रह गरेका थिए । तर जसपाकै अध्यक्ष ठाकुरले भने सोमबार राति नै विज्ञप्ति जारी गर्दै आफ्नो दल अर्को सरकारको पक्षमा रहेको स्प्ष्ट पार्नु भएको छ ।
सोमबार संसदमा जसपाकै डा. बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदले प्रधानमन्त्री ओलीविरुद्ध मत हाले पनि अध्यक्ष ठाकुर पक्षका सांसदहरु भने तटस्थ बसेका थिए ।
ठाकुरले जारी गरेको विज्ञप्तिमा पुनः ओली नै प्रधानमन्त्री हुनुपर्ने जिकिर गरिएको छ ।
आफ्ना पार्टीले उठाएका मुद्दाबारे ओलीसँग भएका वार्ता सकारात्मक तथा कार्य(प्रगतिसमेत भइरहेकाले आफूहरु अर्को सरकारका पक्षमा नरहेको ठाकुरले स्पष्ट गर्नु भएको छ ।
ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्यविपरीत हो, मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्ने हाम्रो ठहर छ। त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ।’
ठाकुरको निर्णयले नयाँ सरकार गठन गर्न लागेका कांग्रेस, माओवादी र जसपाकै भट्टराई–यादव असफल हुने देखिन्छ । सरकार गठनका लागि १३६ सांसद आवश्यक पर्छ । तर उनीहरुका पक्षामा विश्वासको मत परिणाम अनुसार १२४ मात्र छ । त्यो संख्या पनि घटिसकेको स्रोतको दावी छ । संसदमा विश्वासको मतका लागि भएको मतदानमा ठाकुर पक्षका १५ जना तटस्थ बसेका थिए । तर ठाकुरको पक्षमा अरु सांसद पनि थपिएको स्रोतको दावी छ । स्रोतका अनुसार जसपाका ३२ सांसद मध्ये २२ जना ठाकुरको पक्षमा रहेको स्रोतको दावी छ । त्यही २२ जनाको वलमा उपेन्द्र यादव माथी कारबाही हुन सक्ने स्रोतको दावी छ ।