कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति संसदले विश्वासको मत दिएन । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा १५ मत परेको छ ।
आजको मतदानमा २३२ जना सांसद सहभागी हुनुभएको थियो । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले संसदबाट विश्वास प्राप्त गर्न नसक्नु भएको घोषणा गर्नु भएको हो । कोरोना संक्रमित सांसदहरुलाइ भने बेग्लै स्थानमा मतदानको व्यबस्था मिलाइएको थियो ।
कुल सांसद संख्या २७५ रहे पनि आजको वैठकमा २७ जना सांसदको उपस्थिति थिएन । एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु उपस्थित भएनन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएसँगै वर्तमान सरकार ढलेको छ । अब अर्को सरकार गठनको प्रक्रिया शुरु हुनेछ । विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत नपाए पनि संसदको ठूलो दलको रुपमा आफ्नै नेतृत्वको सरकार गठन गर्नसक्ने संकेत गर्नु भएको छ ।
संसदमा विश्वासको मतमाथि विभिन्न दलका नेताहरुको धारणा सुनेपछि ओलीले त्यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले सो कुराको संकेत गर्नु भएको हो ।
सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि बढी जनमतका आधारमा पनि, सबैभन्दा बढी सिट भएको पार्टीको हैसियतले पनि सबैपक्षलाई मिलाएर अगाडि जान्छु भन्दा पनि न्यायोचित हिसाबले हेर्दा आफैँले सरकार बनाउने हक राख्ने उहाँको दावी छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अब नयाँ सरकार बन्ने दावी गरेका छन् । तर प्रधानमन्त्री ओलीका पक्ष, विपक्ष र तटस्थमा परेको मतको विश्लेषण गर्दा देउवा र दाहालको नेतृत्वमा सरकार बन्न सक्ने अवस्था नदेखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।