काठमाडौं । नेकपा एमालेले विभाजन रोक्ने अन्तिम प्रयास स्वरुप माधव नेपाल पक्षसँग संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेलले वार्ता गरेका छन् ।
पार्टी विभाजनको उत्कर्षमा पुगिरहेका बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न नेम्वाङ र पौडेललाई खटाउनु भएको हो ।
अध्यक्ष ओलीका आधिकारिक प्रतिनिधि बनेर गएका नेताहरुले सिंहदरबारमा नेता नेपालसँग वार्ता गरेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर नेता नेपाललाई बुझाइसकेको बेला अध्यक्ष तथा प्रधानमन्त्री ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाउनुभएको हो ।
पौडेल र नेम्वाङ यसअघि पनि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवाद गरेका थिए ।
पार्टीलाई फुटबाट जोगाउनका लागि एमालेका दुवै पक्षका नेताहरुको सक्रियता बढेको छ। पछिल्लो समय नेताहरुबीच निरन्तर सम्वाद भइरहेको छ । यद्यपी संवादले कुनै ठोस निर्णय भने दिन सकेको छैन ।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन चाहेपछि भोलि संसद्को विशेष अधिवेशन बोलाइएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्छ भनेर त्यसअगाडि नै माधव नेपाल समूहका सांसदहरुले सामुहिक राजीनामाको तयारी गरेका छन् ।