काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति प्रदान गरेको छ ।
सरकारी स्वामित्वको चिनियाँ कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप डब्ल्यूएचओको अनुमति पाउने पश्चिमा देशभन्दा बाहिरको पहिलो खोप हो ।
फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोडेर्ना खोपलाई डब्ल्यूएचओले यसअघि नै अनुमति प्रदान गरेको थियो ।
चीनसहित विश्वका करोडौं मानिसले यो खोप यसअघि नै लगाइसकेका छन् । चिनियाँ कम्पनी सिनोफार्मको खोप १८ वर्षमाथिका लागि दुई मात्रा दिनुपर्ने अनुमतिपत्रमा उल्लेख गरिएको छ । यसको प्रभावकारिता ७९ प्रतिशत रहेको उत्पादक कम्पनीले जनाएको छ ।

























