काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकताभन्दा बढी जथाभावीरुपमा अक्सिजन सिलिण्डर लुकाएर राख्ने उद्योग व्यवसायलाई कारबाही गर्ने भएको छ । केही अस्पतालले अक्सिजन सिलिण्डर लुकाएको गुनासो आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कडा कारबाही गर्ने बताएको हो ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमितको उपचारका लागि प्रयोग हुने अक्सिजन सिलिण्डरमा कालोबजारी भएको निष्कर्ष निकाल्दै कडा कारबाही गरिने जानकारी दिएको छ ।
सरकारको निर्णयविपरीत अझै पनि केही उद्योगधन्दामा अक्सिजन प्रयोग गर्ने गरेको पाइएको मन्त्रालयको अनुगमनमा फेला परेको जनाएको छ । धेरै खाली सिलिण्डर र अक्सिजनसहितका सिलिण्डर भण्डारण गरी राखेको अवस्थामा पाइएको भन्दै त्यस्ता उद्योग व्यवसायी र सरोकारवालालाई तत्काल कोरोना अस्पताललाई उपलव्ध गराउन परिपत्र समेत जारी गरिसकेको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिरएको छ ।
सरकारको निर्णय उल्लङ्घन गरेको पाइएमा संक्रमण रोग ऐन २०२० अन्तर्गत कडा कारबाही गर्ने मन्त्रालयले चेतावनी दिएको छ । कोभिड सङ्क्रमित बिरामीहरुले भने अक्सिजन खान नपाएर झन् समस्या खेप्न बाध्य भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो ।





















