काठमाडौं । नेपालमा पछिल्लो समय बढ्दै गएको कोरोना भाइरसले कसैलाई पनि छाडेको छैन । यसै क्रममा प्रतिनिधिसभाका चारजना सांसदलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा चार सांसदमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएको थियो । संक्रमित हुनेमा लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरी रहनुभएको छ । अझै केही सांसदहरुको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ । योसँगै प्रतिनिधिसभाका कूल ११ सांसदलाई कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, नेपाल सरकारका चारजना मन्त्रीलाई पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ । पर्यटनमन्त्री भानुभक्त ढकाल, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महत्तोलाई कोरोना पोजेटिभ देखिएको हो ।
























