काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दोस्रो लहरले देश आक्रान्त भएकाले सरकारले देशका सम्पूर्ण अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या र मापदण्ड निर्धारण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आवश्यक परेको अक्सिजन सिलिण्डरको संख्या दुई दिनभित्र निर्धारण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको हो । साथै सो संख्याका आधारमा अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई जिम्मेवारीसमेत दिइएको छ ।
कोरोना संक्रमणको महामारीले शय्या र अक्सिजन अभावमा संक्रमितहरुले ज्यान गुमाइरहेकाले विपदको यो घडीमा विभिन्न मन्त्रालय र सरकारका निकायहरुले गर्नुपर्ने काम निश्चित गरी त्यसको समयसीमासमेत सरकारले तोकेको छ ।
‘अस्पतालहरुको क्षमता, बिरामी संख्या, उपचारको प्रकृति, आइसियू शय्या र भौगोलिक सन्तुलनका आधारमा मापदण्ड बनाई वैशाख २४ गतेभित्र ती अस्पतालहरुलाई आवश्यक पर्ने अक्सिजन सिलिण्डरको संख्या निर्धारण गर्ने गराउने’ प्रधानमन्त्री कार्यालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको जिम्मेवारीमा उल्लेख गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार अक्सिजन आपूर्ति गर्न अक्सिजन उद्योग र अस्पतालबीच सम्बन्ध स्थापित गर्ने, आवश्यकताअनुसार अस्पतालहरुलाई अक्सिजन उद्योग डेडिकेटेड गर्ने जिम्मेवारी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लिनुपर्ने निर्देशनमा लेखिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जारी गरेको कार्ययोजना अनुसार अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट आवश्यक मर्मतसम्भार गरी वैशाख २४ गतेभित्र सञ्चालनमा ल्याउन सम्बन्धित अस्पताललाई नै जिम्मेवारी दिइएको छ । यो काममा स्वास्थ्य मन्त्रालय र उद्योग मन्त्रालयलाई सहयोगीको रुपमा रहनेछन् ।
सरकारी अस्पतालहरुमा रहेका अक्सिजन प्लान्ट मर्मतसम्भारका लागि आवश्यकताअनुसार स्रोत उपलब्ध गराउन स्वास्थ्य मन्त्रालय र अर्थमन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी आवश्यकताभन्दा बढी अक्सिजन सिलिण्डर होल्ड गर्ने अस्पताल, व्यक्ति वा अन्य संघसंस्थाबाट अक्सिजन सिलिण्डर नियन्त्रणमा लिई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्धारण गरेको संख्याअनुसार कोभिड अस्पतालहरुमा वैशाख २३ गतेभित्र उपलब्ध गराउन पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
यसका साथै देशभरका अक्सिजन उद्योगहरुको अनुगमन गरी वैशाख २३ गतेभित्र पूर्ण क्षमतामा सञ्चालन गर्ने व्यवस्था मिलाउन उद्योग मन्त्रालयलाई भनिएको छ । अक्सिजन उद्योगहरुमा विद्युत र खानेपानीको निरन्तर आपूर्ति गर्न सिंचाइ, ऊर्जा तथा जलस्रोत र खानेपानी मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । रराष्ट्र मन्त्रालयलाई भारतबाट लिक्विड अक्सिजन आयातका लागि तत्काल कूटनीतिक पहल गर्न पनि भनिएको छ । उद्योग तथा निर्माण क्षेत्रमा रहेका अक्सिजन सिलिण्डर सम्बन्धित अक्सिजन उद्योगमा फिर्ता गराउन गृहमन्त्रालयलाई निर्देशन दिइएको छ । यो काम वैशाख २४ गतेभित्र गर्न प्रधानमन्त्री कार्यालयले सम्बन्धित मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिएको निर्देशन हेर्न तलको फाइलमा क्लिक गर्नुहोस् :




















