काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना संक्रमणले महामारीको रुप लिएको छ । कोरोनाको दोस्रो लहरले यतिबेला मुलुक आक्रान्त बनेको छ । कोरोना भाइरसको नयाँ भेरियन्टबाट नेपालका विभिन्न जिल्ला आक्रान्त बनेपछि त्यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ५६ जिल्लामा पुगेको छ । त्यसमध्ये ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
बुधबार साँझसम्म मुलुकका ५६ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको जिल्ला संवाददाताहरुले बताएका छन् । पछिल्लो तथ्यांकमा दोलखामा जिल्लाभर र इलाम, धनकुटा र सिन्धुपाल्चोकमा केही ठाउँमा निषेध आदेश जारी गरिएको छ । त्यस्तै आदेश जारी भएका अन्य जिल्लामा म्याग्दी, मुगु, तनहुँ, बारा, सिरहा र नवलपरासी पश्चिम रहेको छ । त्यसमध्ये तनहुँ र म्याग्दीमा क्षेत्र तोकेर आंशिक निषेधाज्ञा आदेश जारी भएको छ ।
नवलपरासी पश्चिममा बुधबारदेखि आदेश लागू भइसकेको छ भने म्याग्दी, मुगु र तनहुँमा बुधबार राति १२ बजेदेखि लागू भएको छ । बारा र सिरहामा आज बिहान ६ बजेदेखि लागू भएको छ । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास भइरहेको छ ।
अहिले बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बाग्लुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, मोरङ र गुल्मीमा निषेधाज्ञा लागू भएको छ ।
त्यसैगरी प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङजा, कपिलवस्तु, रामेछाप, ताप्लेजुङ र वैतडी, नुवाकोट, धनुषा, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, दैलेख, अर्घाखाँची र रोल्पामा पनि निधेधाज्ञा कार्यान्वयनमा आएको छ । त्यसमध्ये बाग्लुङ, दार्चुला, मोरङ, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, कालिकोट, स्याङ्जा, रामेछाप, ताप्लेजुङ, तनहुँ र म्याग्दीमा आंशिक निषेधाज्ञा जारी गरिएको छ ।




















