काठमाडौं । नेपालमा कोरोनाको कहर बढ्दै गएको छ । कोरोनाबाट मृत्यु हुनेहरुको संख्या पनि बढिरहेको छ । मुलुकमा पछिल्लो २४ घण्टामा ५८ जनाले कोरोनाबाट ज्यान गुमाएमा छन् । एकै दिन मृत्यु भएकाको संख्या हालसम्मकै उच्च हो । यससँगै कोरोना संक्रमणबाट हालसम्म नेपालमा ३,४७५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८,६५९ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा उपचाररत छन् । देशभर आईसीयूमा ६०० जना र भेन्टिलेटरमा १५६ जनाले उपचार गराइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १,९९३ जना रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।
त्यसैगरी काठमाडौंमा २ हजार ८४९, भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना कोरोना संक्रमित भेटिएका हुन् । यस्तै एकै दिन काठमाडौँ उपत्यकामा मात्र १५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




















