काठमाडौँ । आगामी वैशाख २७ गते हुने प्रतिनिधिसभाको अधिवेशनका लागि प्रतिनिधिसभाका सभामुख तथा सांसदहरुको कोरोना परीक्षण हुने भएको छ ।
प्रतिनिधिसभाको अधिवेशनका लागि आज र भोलि सभामुखसहित सांसदहरुको कोरोना परीक्षण गरिने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा आज र भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कोरोनाको परीक्षण गर्न लागिएको जनाइएको छ । प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र संसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सबै कर्मचारीहरुको पिसिआर परीक्षण गरिन लागिएको बताइएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालकहरुको पिसिआर परीक्षण भने भोलि गरिने संसद सचिवालयले जनाएको छ । सरकारका तीनजना मन्त्री खानेपानी मन्त्री मणि थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी र पर्यटनमन्त्री भानुभक्त ढकाल कोरोनाबाट संक्रमित भई उपचाररत हुनुहुन्छ ।



















