काठमाडौं । नेपालमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमण दैनिक रुपमा तीव्रगतिमा उकालो लागेपछि काठमाडौं उपत्यकामा थप कडाइ गरिएको छ ।
यसअघि तीन जिल्लामा जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको थियो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले निषेधाज्ञामा झनै कडाइसहित एक साता थप गरी आगामी २९ वैशाखसम्म पु-याउने निर्णय गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको गतिलाई बढ्न नदिन थप एक साता निषेधाज्ञा बढाइएको छ ।
आजदेखि अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कनसमेत पाइने छैन । बिहान ७ बाट ९ बजेसम्म मात्रै किराना तथा खाद्य पसल खोल्न पाइने भएको छ । सोही समयभित्र डिपार्टमेन्टल स्टोर तथा ग्रोसरी पनि सञ्चालन गर्न छुट दिइएको छ ।
बैठकले यसअघि जारी सबै किसिमका पास खारेज गर्ने निर्णयसमेत गरेको छ । अत्यावश्यक सेवाबाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बिमालगायत कार्यालय एक चौथाइ कर्मचारी उपस्थित हुनेगरी सञ्चालन गर्न दिइने निर्णय भएको छ ।
त्यसैगरी पत्रकारले सूचना विभागको पासका आधारमा समाचार संकलन गर्न पाउने तथा सूचना विभागको प्रेसपास नभएकाको सञ्चारकर्मी/कर्मचारीको हकमा सम्बन्धित सञ्चार गृहले न्यूनतम कर्मचारी मात्र खटाउने र त्यसको विवरण जिल्ला प्रशासन कार्यालयलाई गराउनुपर्ने भएको । मजदुर किसानको हकमा राहत प्याकेजको व्यवस्था गरिएको छ । पीडित मजदुर किसानले सम्बन्धित वडा कार्यालयमा आफ्नो आवश्यकता दर्ता गराए राहत सामग्री प्राप्त गर्न सकिने व्यवस्था बैठकले गरेको छ ।
























