काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता लम्बिएको छ । साथै यस अवधिमा निषेधाज्ञा थप कडा हुने भएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यस अवधिमा खाद्यान्न पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाइने भएको छ । बेलुकीको समयमा अत्यावश्यक पसल पनि सञ्चालन गर्न नपाइने भएको छ । फुटपाथका पसल बन्द गरिने भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले अब निषेधाज्ञालाई अझ कडाइ गर्ने बताउनुभयो । उहाँका अनुसार बैंक तथा वित्तीय संस्थामा कर्मचारी सीमित गर्ने, सरकारी कार्यालयमा पनि कर्मचारी र सवारीसाधनको संख्या घटाउने व्यवस्था गर्ने निर्णय भएको छ। यसको व्यवस्था सम्बन्धित मन्त्रालय र विभागबाटै गर्ने प्रमुख जिल्ला अधिकारीको निर्णय छ।
सञ्चारमाध्यमलाई पनि आवागमनमा थप कडाइ गरिने उहाँले जानकारी गराउनुभयो ।
अब पत्रकारहरुले सूचना विभागले जारी गरेका प्रेस पास देखाउनुपर्नेछ । त्यो नभएकाहरुका हकमा सम्बन्धित सञ्चारगृहले प्रशासनमा न्यूनतम कर्मचारी खटाउने र तिनको विवरण जिल्ला प्रशासनमा उपलब्ध गराउनुपर्ने निर्णय भएको छ ।
























