काठमाडौं । नेपालमा कोरोना संक्रमणले दैनिक नयाँ रेकर्ड बनाउँदै पछिल्लो २४ घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट तीन हजार ३६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ । हालसम्म दुई लाख ८६ हजार १५ जना कोरोनामुक्त भएका छन् । सङ्क्रमित संख्या बृद्धि हुनु र निको हुने कम हुँदा सङ्क्रमित निको हुने दर घटेर ८३.३ प्रतिशत भएको छ ।
हाल ५४ हजार ४१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । हाल २१२ जना क्वारेन्टिनमा र ५४ हजार ४१ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म २५ लाख २१ ह्जार १६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
त्यसैगरी उपत्यकामा मात्रै विगत २४ घन्टामा ३ हजार ६६६ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।




















