काठमाडौं । सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सोमबार रातिदेखि आन्तरिक र बुधबार मध्य रातिदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । सबै प्रकारका उडान हाललाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउनुभयो ।
यसबीचमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि भने अनुमति दिने निर्णय भएको छ । यसअघि आइतबार नै आन्तरिक उडान कटौती गरिएको थियो ।
सरकारले निषेधाज्ञा जारी गरेसँगै सडक यातायात भने बन्द गर्ने निर्णय गरेको थियो । तर हवाई यातायात खुल्ला गर्दा संक्रमणको जोखिम कायम रहेको भन्दै विरोध भइरहेको थियो भने सीसीएमसीले हवाई उडान पनि बन्द गर्न सिफारिस गरेको थियो ।