काठमाडौं । राष्ट्रिय सूचना प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले क्युआर कोडमार्फत् बैंक खाता खोल्नुभएको छ । सो अवसरमा उहाँले नागरिक एपको उद्घाटन समेत गर्नुभयो । उहाँले नागरिक एपको उद्घाटन गरेसँगै थप सरकारी सेवा सुविधासहित नागरिक एपको आजबाट औपचारिक शुभारम्भ भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा आफूले खाता खोलेको समेत जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले भर्खरै खाता खोलेको र अहिले भर्खरै खाता नम्बर प्राप्त भइसकेको छ ।’
राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअलरुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने जानकारी समेत दिनुभयो ।

























