काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिनुभएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज गेलाललाई आज टेलिफोन गरी कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति (सिसिएमसी) का संयोजक पोखरेलले नागरिकको जीवन रक्षाका लागि कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको हो । उपप्रधानमन्त्री पोखरेलले स्थिति भयावह हुन नदिनेतर्फ बेलैमा कदम चाल्न निर्देशन दिँदै सिसिएमसीका तर्फबाट आवश्यक पर्ने सम्पूर्ण सहयोग हुने बताउनुभयो । कुनै गम्भीर विषय भएमा सिसिएमसीले हेर्ने प्रधानमन्त्री कार्यालयका सचिवलाई सिधै सम्पर्क गर्न उहाँले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन पनि दिनुभयो ।
उपप्रधानमन्त्री पोखरेलले कोरोनाका बिरामीको उपचारका लागि पूर्वाधार भएको ठाउँको पहिचान गरी तयारी गर्न, निजी अस्पतालका पूर्वाधारलाई सदुपयोग गर्न, अक्सिजनको पर्याप्त व्यवस्था गर्नसमेत प्रजिअलाई निर्देशन दिनुभएको छ ।
प्रजिअ गेलालले बाँकेको वस्तुस्थितिका विषयमा जानकारी गराउँदै कोभिडका बिरामीको चाप अस्पतालमा बढिरहेको, अस्पतालमा श्ययाको अभाव भएको, मेडिकल डाक्टरको अभाव भएको तथा नेपाल मेडिकल कलेज कोहलपुरलाई कोभिड अस्पतालका रुपमा अगाडि बढाउने विषय प्रक्रियामै रहेको जानकारी गराउनुभएको थियो । उपप्रधानमन्त्री पोखरेलले यी सबै विषयमा तत्कालै सिसिएमसीका तर्फबाट सम्बोधन गरिने बताउनुभयो । उहाँले नेपाल–भारत सीमा नाकामा होल्डिङ सेन्टरको व्यवस्थापनका विषयमा पनि जानकारी लिनुभएको थियो ।

























