काठमाडौं । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठन गर्ने तयारी नेकपा एमालेले गरेको छ ।
कर्णाली प्रदेश सभामा जस्तै एमालेकै माधव नेपाल पक्षका सांसदबाट ‘फ्लोर–क्रस’ हुने आशंकाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पदबाट राजीनामा दिनुभएको छ । उहाँले आजै संसदीय दलको बैठकबाट निर्णय गराएर एकल बहुमतको सरकार तयारी गर्नुभएको जानकारी स्रोतले दिएको छ ।
सोही सिलसिलामा लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलको आजै बसेको बैठकले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै प्रस्ताव गरिसकेको छ ।
‘माधव नेपाल समूहका सांसदले फ्लोर क्रस गर्छन् भनेर मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना नगरी संसदीय दलबाट निर्णय गरेर बहुमत लिएर सरकार बनाउने तयारी गर्नुभएको छ,’ एमाले उच्च स्रोतले बताएको छ ।
एमाले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई नयाँ मुख्यमन्त्रीका रुपमा आजै सपथ ग्रहण गराउने तयारी भएको एमाले स्रोतले बताएको छ ।
प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले नै नयाँ मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गर्ने तयारी भइरहेको एमालेका एक नेताको भनाइ छ ।
प्रदेश सरकारका प्रवक्तासमेत रहेका एमाले नेता वैजनाथ चौधरीले भन्नुभयो, ‘नयाँ मुख्यमन्त्रीमा शंकर पोखरेलले आजै सपथ ग्रहण गर्नुहुन्छ, धारा बदलिएको मात्रै हो, सरकार बदलिएकै छैन ।’
आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गर्नुभएको छ ।
एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठनको तयारीमा मुख्यमन्त्री पोखरेल हुनुहुन्छ ।
एमाले प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् जुन बहुमतको एकल सरकार बनाउन आवश्यक संख्या हो ।