भरतपुर । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित्व गर्ने वाग्मती प्रदेशसभा सदस्य विजय सुवेदी, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहितको टोलीले शनिबार भरतपुरको वागीश्वरीमा रहेको योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्टको स्थलगत अध्ययन गरेका हुन् । टोलीले सो क्षेत्रमा स्थलगत अध्ययन गरी वागीश्वरीमा १०० शय्याको र शारदानगर हेल्थपोष्टमा ३० शय्याको आइसोलेसन केन्द्र बनाउने तयारी थालेको हो ।
प्रदेशसभा सदस्य सुवेदीले योग तथा प्राकृतिक चिकित्सालय र शारदानगर हेल्थ पोष्ट प्रशासनलाई तत्काल आइसोलेसन केन्द्र बनाउन के–कति खर्च लाग्छ योजनासहित पेश गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “आइसोलेसन केन्द्रका लागि भरतपुर महानगरपालिका, प्रदेश सरकार र सङ्घीय सरकारको सहयोग रहनेछ । भरतपुरमा कोरोनाको सङ्क्रमण फैलिएर महामारीको रूपमा फैलिनसक्ने भएकाले पनि आइसोलेसन जरुरी छ ।” उहाँले अस्पतालहरु भरिन थालेपछि अक्सिजनसहितको आइसोलेसनको जरुरी परेको बताउनुभयो ।
पत्रकार महासङ्घ चितवनको हेल्प डेस्क
चितवनमा बढ्दो कोरोना सङ्क्रमण र निषेधाज्ञाको घोषणासँगै नेपाल पत्रकार महासङ्घ चितवनले हेल्प डेस्क (सहायता कक्ष) स्थापना गरेको छ । नेपाल पत्रकार महासङ्घ चितवनले कोरोना महामारीको समयमा चितवनका पत्रकारलाई केही समस्या परेमा तत्काल समाधानका लागि सो डेस्क स्थापना गरेको जनाएको छ । पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारीका अनुसार महासङ्घ सचिव दीपेन्द्र अधिकारीको संयोजकत्वमा गठित डेस्कको सदस्यमा सहसचिव उर्गेन तामाङ र विप्लव काफ्ले रहनुभएको छ । पत्रकारलाई कुनै समस्या परेमा संयोजक अधिकारी वा सदस्यद्वयलाई तत्काल सम्पर्क गर्नसमेत महासङ्घ चितवनले आग्रह गरेको छ ।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही
दोस्रो लहरमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि चितवनमा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । यहाँ निषेधाज्ञा उल्लङ्घन गर्ने दुई हजार ५८२ मानिस तथा ८४१ वटा सवारी साधनलाई कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिबार दिनभरमा सो सङ्ख्यामा कारवाही गरिएको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरुबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट रु ७२ हजार ९०० जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्कसमेत वितरण गरिएको जानकारी दिनुभयो ।
निषेधाज्ञामा तोकिएकाबाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।
निर्माणाधीन रङ्गशालालाई सहयोग
चितवन समाज आयरल्याण्डले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई आर्थिक सहयोग गरेको छ । शनिबार रङ्गशाला परिसरमा आयोजित एक कार्यक्रमका बीच समाजका महासचिव विवेकराज सपकोटाले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसलाई रु तीन लाखको चेक हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा अध्यक्ष धुर्मुसले कठिन परिस्थितिमा पनि विदेशी भूमिमा रहेर बगाएको रगत पसिनाको कमाइ सङ्कलन गरी सहयोग उपलब्ध गराएको भन्दै दाता संस्था चितवन समाज आयरल्याण्डका अध्यक्ष चेतराज ओली र सम्पूर्ण आयरल्याण्डवासी सहयोगी नेपालीहरुप्रति आभार व्यक्त गर्नुभयो । समाजका महासचिव सापकोटाले जनस्तरबाट निर्माणाधीन रङ्गशालालाई सम्पन्न गराउन सरकारदेखि गैरआवासीय नेपालीसम्मलाई सहयोगको निम्ति आह्वान गर्नुभयो । (रासस)